Wednesday, September 7, 2016

देवकोटा, गोटीखेल र फ्रेडी

काठमाडौंबाट दक्षिणपूर्व झन्डै ७० किलोमिटर टाढा रहेको गोटीखेल अहिले केही उजाड छ । सुक्खा लागेर बारीका पाटा चीरा परेका छन् । काउली राम्ररी फुल्न सकिरहेका छैनन् तर गोटीखेलका बासिन्दाको मन भने फूलेकै छ । पछिल्लो समय उनीहरूको जीवनशैली बदलिएको छ । बालबच्चा शिक्षित छन् । गाउँमै उच्चमावि, हेल्थपोस्ट छन् । देशका कुनाकुनामा पुगेको बोर्डिङ स्कुल पनि छ । सरकारी सेवाका आधारभूत संरचनाहरू पनि छन् । सरकारले ८ घण्टा मात्र बिजुली दिए पनि गोटीखेलबासीले आफ्नै पौरखले बिजुली बालिरहेका छन्, पेल्टि्रक सेटबाट । पशुपालन र दूधबाट पनि मनग्गे आम्दानी गर्दा रहेछन् यहाँका बासिन्दा । रामहरि तिमल्सिना दिनमा २० धार्नीसम्म खुवा उत्पादन गरेर बेच्छन् । छोराछोरीलाई राम्रै गनिने स्कुलमा पढाएका छन् । आफ्नै पौरखले केही कमाएको छु -उनी सन्तुष्टिभाव देखाउछन् । उनीजस्ता करिब आधा दर्जन किसानले खुवा उत्पादन गरेर मनग्गे आर्जन गरिरहेका छन् । गाउँका सबैजसो युवाले एउटा एउटा पेसा अंगालेकै छन् । र पनि ललितपुरको कर्णाली र सौतेलो सन्तान जस्ता उपनाम पाएको छ यो ठाउँले । 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की वर्षौभरि देशव्यापी रूपमा मनाइरहँदा गत हप्ता केही साहित्यकार, पत्रकार र कलाकारको एउटा टोली गोटीखेलतर्फहानिदै थियो, सुनगाभा साहित्य सदनले दक्षिणी ललितपुरमा पहिलोपटक आयोजना गरेको ललितपुर साहित्यिक महोत्सवका लागि। प्राणघातक रोग स्वाइनफ्लुले विश्वभरि नै आतंक मच्चाएर लाखौं सुँगुर मारिइरहँदा हाम्रो यात्रामा भने स्टेफन हकिन्सको चर्चित पुस्तक जर्ज्स सेक्रेट कि टु दी युनिभर्स को पात्र फ्रेडी नामको सुँगुर चर्चाको विषय बनिरहृयो । फ्रेडी पुस्तकको मुख्य पात्र जर्जको साथी हो, जुन जर्जलाई हजुरआमाले जन्मदिनमा उपहार दिएकी थिइन्। जर्ज बहृमान्डबारे निकै जिज्ञासु हुन्छ । घरनजिकै वैज्ञानिक सम्मेलन भइरहेको बेला फ्रेडी खोर भत्काएर त्यहाँ पुग्छ । फ्रेडीलाई खोज्दै जाने क्रममा जर्जले एरिक र अन्य वैज्ञानिकलाई भेट्छ। त्यहीबाट उसको ब्रहृमाण्डयात्रा शुरू हुन्छ । यसरी फ्रेडीले जर्जलाई बहृमाण्डको यात्रामा सामेल हुने बाटो खोलिदिन्छ । दुइ वर्षगाडि प्रकाशित यो पुस्तक हालसम्म संसारका झन्डै तीन दर्जन भाषामा अनुवाद भइसकेको छ । गोटीखेल यात्राकै सहयात्री विकास बस्नेतले जर्जको ब्रहृमाण्डयात्रा शीर्षकमा सो पुस्तकको नेपाली अनुवाद गरेका हुन्।
दुइदिने महोत्सवमा सबैले देवकोटालाई सम्झिए । उनका व्यक्तित्व र कृतित्वका विभिन्न पक्षबारे चर्चा भयो । काठमाडौं फर्केपछि मैले देवकोटाका समकालीन वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधान र पुत्र प्राध्यापक पद्मप्रसाद देवकोटासँग उनीबारे थप जिज्ञासा राखें । देवकोटा जन्मिदा दीपावलीको झिलिमिलीसँगै औंसीको अध्यारो पनि थियो । जन्मसमयको त्यही अध्यारो र उज्यालोको संयोग जीवनभर देवकोटाले भोग्नुपरेको सुनाउँछन् प्रधान। भन्छन् । उनको जीवनमा अत्यन्तै उज्याला र अँध्यारा दिन पनि आए । थुप्रै विषम परिस्थितिको सामना गर्नुपर्यो । देवकोटा चुरोटको सबैभन्दा नजिकका साथी थिए र चुरोट उनको । उनले २५ वर्षको उमेरदेखि चुरोट पिउन थालेका थिए । प्रधानको विचारमा उनको व्यक्तित्वमा बढी चुरोट खाने बानीले चाहि नराम्रो प्रभाव पार्यो ।
देवकोटाको व्यक्तित्व अचम्मको थियो । उनलाई पहिलोपटक भेट्दाको अनुभवबारे शंकर लामिछानेले लेखेका छन् कोठामा उफ्रेर एक्कासि पुगें । देखें- कालो कम्बलमा गुटुमुटिएर देब्रे हातले चिउँडो समाई कोही एकाग्रचित्त भएर पढिरहेछ । एकमन त लगत्तै फर्कूंजस्तो लाग्यो । उहाँ महाकवि होइन होला भन्ठानेर । कोठामा चारैतिर भर्खरै आँधी आएझैं हरेक दिशामा कागज छन् । भित्तामा विभिन्न देवीदेवता अनि रवीन्द्रनाथ ठाकुरका चित्र पेन्सिलले कोरिएका छन् । महाकवि लहडी थिए । एकपटक शौच बस्दा बारुलाले टोकेछ । त्यसपछि उनी सीधै पुलिसचौकी गएर बारुलालाई कारबाही गरिपाउ भनेर निवेदन दिए । उनी कहिलेकाही यथार्थलाइ कल्पना र कल्पनालाई यथार्थ सम्झन्थे । हिड्दा, बस्दा, खाँदा, चुरोट तान्दा आफैंभित्र हराइरहेका हुन्थे । प्राय दौरासुरुवाल, कोट र टोपी लगाउँथे । कालो लामो सेरवानी कोट लगाएर साइकलमा पनि हिड्थे । पछिपछिचाहि टोपी हातमा बोकेर हिड्थे र होटलमा खाजा खाँदा प्रायः त्यही बिर्सिन्थे । गफ गर्ने मान्छे हुँदा उनी घण्टौंसम्म गफिइरहन्थे । गफ गर्ने मान्छे कोही भएन भने कल्पनामा बहकिदै हिडिरहन्थे ।
देवकोटा समाजसुधारक र ठूला राष्ट्रवादी थिए । पुत्र देवकोटाका अनुसार शिक्षामन्त्री भएका बेला उनले नेपाली भाषालाई राष्ट्रभाषा बनाए । नेपाली भाषालाई अनिवार्य बनाई औपचारिक रूपमा यसको पढाइ शुरू गराए । मानिस शिक्षित होऊन् भनेर उनी गोर्खापत्र बेच्न बिहानबिहान पशुपति पुग्थे । त्रिभुवन विश्वविद्यालय खोल्न र दुग्ध विकास संस्थानको स्थापना गर्नमा पनि योगदान गरेका छन् । दुग्ध विकास संस्थानको नाम गोरस संस्थान राख्न उनले प्रस्ताव गरेका थिए । उनको बोल्ने कला अद्भुत थियो । २०१२ सालतिर मातृकाप्रसाद कोइरालाले संसद्मा हिन्दीमा भाषण गरे र आफू नेपाली नबुझने भन्दै राष्ट्रभाषा हिन्दीलाई बनाउनुपर्ने माग गरे । देवकोटा जुरुक्क उठेर २ घण्टा अंग्रेजीमा बोलेर राष्ट्रभाषा अंग्रेजी बनाउनुपर्छ भनिदिए । त्यसपछि मातृकाले यस्तो कुरै गरेनन् । यो देशको स्वाभिमान जोगाउनुभयो तर देशले उहाँलाई चिनेन । पुत्र दुखेसो गर्छन् ।
देवकोटाको आर्थिक अवस्था र उनको उदारताका बारेमा थुप्रै सम्झना छन् साहित्यकार प्रधानसँग । उनले अँजुली फुकाएर नै अरूलाई दिए तर नियतिको खेल उनले अँजुली फुकाएर माग्नु पनि पर्यो । उनको उदारता उनकै लागि कमजोरी बन्यो । सबै कुरा जिते पनि रोग, भोक र शोकसँग हारे देवकोटा । प्रधान भावुक हुँदै भन्छन् । उनले बिजुली अड्डामा पनि पैसा बुझाउन सकेनन् र २००७ सालको प्रजातन्त्रसँगसँगै उनको घरबाट बिजुलीको लाइन काटियो । देवकोटाले जीवनमा जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि आफ्नो व्यवहारबाट हात झिकेनन् । सन्तानको बिहे-व्रतबन्ध गर्न निकै ठूलो कसरत गर्नुपर्यो किनभने जीवन योजनाबद्ध रूपमा कहिल्यै चल्न सकेन । देवकोटापत्नी पनि मनकी असाध्यै धनी थिइन् र धेरैजसो पैसा धर्मकर्ममा लगाउँथिन्, गरिबहरूलाई दिन्थिन् । देवकोटा पैसा थापेको दिन तिर्न बाँकी रहेका सबै पसलमा पुग्थे । पैसा भएको बखत घर आउँदा प्राय चाकु-पुष्टकारी आदि लिएर आउँथे र छोराछोरी सुतिसके पनि उठाएर बाँड्थे ।
पुत्र देवकोटाका अनुसार उनी १४ वर्षा भएपछि उनको बिहेको कुरा चल्न थालेको थियो । उनको विवाह १९८१ फागुनमा इन्द्रचोककी मनदेवी चालिसेसँग भयो । विवाह हुँदाताका देवकोटा सोझा थिए । उनले पहिलोपटक ससुराली जाँदा ६ रुपियाँको महँगो जुत्ता हराउनाले बुबाको गाली खाएका थिए रे। १९९६ मा पैतृक अंशबन्डा हुँदा देवकोटा दाजुभाइका नाममा एउटा थोत्रो घर मात्र थियो । झिगटी लगाएको दुइतले घर ६ जनालाई बाँड्दा सरदरमा एउटा कोठा पर्ने देखेपछि देवकोटाले मैतीदेवी फाँटमा एउटा पुरानो घर किनेका थिए, जुन अहिले जीण अवस्थामा छ । अहिले यो घर भाडामा लगाएर देवकोटाका शाखासन्तान अर्कै सुविधायुक्त घरमा बस्छन् ।
उनका बुबा तिलमाधव देवकोटा आफ्ना छोरालाई आफूजस्तै पण्डित बनाउन चाहन्थे तर उनलाई पारिवारिक सल्लाहबमोजिम अंग्रेजी पढाइयो । एसएलसीपछि देवकोटा आईएस्सी पढ्न त्रिचन्द्र कलेजमा भर्ना भए । उनी आफ्नो पाठ घोकेर कण्ठ पार्थे । कापीमा उन्नाइसौं र बीसौं शताब्दीका स्वच्छन्दतावादी अंग्रेजी कवि, निबन्धकार र समालोचकका लामा-लामा उद्धरण पनि जस्ताको तस्तै सार्थे । उनले यति बेलासम्ममा द्रुत गतिमा कविता लेख्न थालिसकेका थिए र वर्ड्र्सवर्थ र सेलीका कविता पढेर आफूलाई अंग्रेजी साहित्यतिर पनि उन्मुख गराइसकेका थिए । देवकोटाले १९८५ मा आईएस्सी पास गरे र १९८६ मा पटना विश्वविद्यालयबाट बीए गरे । त्यस बेला नेपालबाट बीए पास गर्ने उहाँ एक्लो हुनुहुन्थ्यो । उहाँले बीए पास गरेको कुरा त्यति बेला हट न्युज बन्यो र गोर्खापत्रले पनि यो खबर छापेको थियो । पुत्र सम्झन्छन् ।
उनले तत्कालीन राणा सरकारको छात्रवृत्तिमा पटना विश्वविद्यालयमै कानुन पनि पढे । महिनाको ७० रुपियाँ छात्रवृत्ति पाउँथे । यो पैसाले उनले आफ्ना भाइहरूलाई पनि पटना लगेर पढाए । त्यति बेला अखिल भारतीय कलेज वादविवाद प्रतियोगितामा उनी प्रथम भएका थिए । पटनामा पढ्दा उनले विश्वेश्वरप्रसाद कोइरालालाई पनि भेटे । कानपुरका उद्योगहरू हेरे, ताजमहल हेरे र कविता लेखे । पटनामा देवकोटालाई भेटेको कुरा बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन् । पटनाबाट बीएल सकेर काठमाडौं फर्किंदै गर्दा १९९० साल माघ ९ गते महाभूकम्प गयो । उनले थानकोटमा रात कटाए । भोलिपल्ट घर फर्किंदा उनले धरहरा भाँच्चिएको देखे । टुँडिखेल चिरैचिरा भएको देखे र काठमाडौं नै विक्षिप्त भएको देखे । उनी त्यति बेला निकै विचलित भएका थिए ।
एमए पढ्न पुनः पटना विश्वविद्यालयमा नाम लेखाए तर पूरा गर्न सकेनन् । पढ्दापढ्दै देवकोटामा पढाइप्रति वितृष्णा जाग्यो । उनीभित्रको आशा, भरोसा र उत्साह पनि क्रमशः मर्दै गयो । अध्ययनमा जुट्दाजुट्दै बरालिन थाले । सांसारिक मोहबाट हराउन थाले । उनी भौंतारिएर हिड्दाहिड्दै पनि उनको मनमा कविताचाहिं फुरिरहन्थ्यो । देवकोटा र कविता एउटा सिक्काका दुइ पाटा हुन पुगे ।
वाग्मतीमा धेरै पानी बगिसकेको छ। देवकोटा इतिहास बनिसकेका छन्। काठमाडौंको मौलिकता खोज्न कि काष्ठमण्डप नै पुग्नुपर्छ कि त यो कहालीलाग्दा घरहरूको शहरलाई पिठ्यु फर्काएर पहाडतिर उकालो लाग्नुपर्ने अवस्था छ। परम मित्र चुरोट पैसाबाट रुपियाँ हुँदै उकालिएर उनैले हराएको जुत्ताकै मोलबराबर पुगिसक्यो, एक खिल्लीकै । जर्जलाई बहृमाण्ड घुमाउने फ्रेडी मानवसभ्यताकै अन्त्य गराउन सक्ने घातक सँगुर बनिसक्यो । शतवाषिर्की समारोहस्थल गोटीखेल पनि यसबाट भविष्यमा आक्रान्त नहोला भन्न सकिन्न। देवकोटा भएको भए उनी पनि यसबाट त्रस्त हुनुपथ्र्यो। मास्क लगाएर हिड्थे होलान् । साँच्ची, उनी त स्वच्छन्द र परसेवी पो हुन् क्यारे, मास्क पनि दुःखी गरिबलाई दिन्थे होलान् । कविता त लेखी नै हाल्थे, काव्यिक एडिक्ट जो परे उनी ।

No comments:

Post a Comment