Wednesday, September 7, 2016

अमेरिका, प्रेयसी र साँझहरु

प्रेम अनुभव सबैसंग हुन्छ । हुँदैन त सबैलाइ मिल्ने परिभाषा । लाखौं गित रचिएका छन् प्रेममा । हजारौं महाकाव्य र गजल लेखिएका छन् । कार्ड र उपहार सजाइएका छन् । राजधानीमा दिल टुटेका कृष र साथ छुटेकी स्मिताको वालपेन्टिङ्गमा प्रदर्शित प्रेमको स्टोरी अखवारहरुमा छापिइरहँदा एउटा प्रेममा क्लिन बोल्ड युवकको प्रेयसीका यादहरुको र्सार्वजनिकिकरण हो यो स्टोरी । स्टोरी यसरी अगाडी बढ्छ । 
अनामनगरको भित्रपट्टकिो एउटा फास्ट फुड क्याफेमा बेलुकाको सात बजे अधिकांश टेबुलहरु भरिएका छन् । हरेक टेबुलमा बालिएका दुइ दुइ वटा मैनबत्तिको उज्यालोका बिच कुनाको टेबुलमा एक युवक बसेको छ चुरोट पिउँदै । फाटेजस्तो टाटेपाटे खैरो क्याप र गाढा निलो भुवादार ज्याकेट झट्ट देखिने उसको पहिरन । मैनबत्तिको मधुरो उज्यालोमा म उसको अनुहारको भाव राम्ररी पढ्न सक्दिन । तर जे होस उ फ्रेस नै देखिन्छ । म उतिर अगाडी बढ्छु । सकिन लागेको चुरोटको ठुटो एस्ट्रेमा राखेर उ मलाई नमस्ते गर्छ र बस्ने संकेत गर्छ । एउटा बालक कपडा लिएर टेबुल पुछ्न आईपुग्छ । सडकको फोहोरको गन्ध हामीसम्मै आईरहेको छ । 
उसलाई मैले झण्डै दुइ महिना अगाडी चिनेको थिएँ । परिचयकै क्रममा के गर्नुहुन्छ - भनेर उसले सोध्दा 'म स्टोरी लेख्छु' भनेको थिएँ मैले । 'ओहो, त्यसो भए मेरो पनि एउटा स्टोरी लेख्दिनुस ल दाई ।' पहिलो भेटमै उसले मलाई दाई भनेर सम्बोधन गरेको थियो । 'ठिक छ र्टाईम मिल्यो भने लेखौंला' मैले भनेको थिएँ । आज म उसको स्टोरी लेख्ने मुडमा यो क्याफेमा आईपुगेको छु । वेटरलाई बोलाएर उ आफ्ना लागी रोयल स्टाग र मेरो लागी जुस मगाउँछ । 'मेरो बारेमा यो गल्ली र बाटोमा कसैलाई थाहा छैन । गाउँमा पनि बिर्सिसके होला धेरैजसोले ।' वियरको पहिलो चुस्कीसँगै उ आफ्नो कुरा शुरु गर्छ । 'घर चाहिं कहाँ रे भाईको -' म सोध्छु । 'पूर्व ४ नंम्बर भोजपूर । घर के भन्नु दाई, झुप्रो । जग्गाको नाममा ४ हलको मेलो खेत र २ हलको बारी छ ।' उ बेलीबिस्तार लाउन थाल्छ । 'सडक र मोटरको त कल्पना पनि गर्दैनथे कसैले । सक्नेहरु घोडा चढ्थे । अहिले मोटर बाटो पुग्यो भन्छन् । नगएको ६ बर्षभो के थाहा !' उ एकपल्ट आफ्नो गाउँमा पुग्छ र एकछिन उतै हराउँछ । 
'अचेल फुर्सदिलो छु । हुन त कहिले हो र म बेफुर्सद भा'को । जहिले पनि फुर्सद । बिहान अबेर उठ्छु । खाना खाएर २-४ घण्टा सडक नाप्छु अनि साँझ यि यस्तै ।' एकछिन चुप लागेपछि उसले आफ्नो दिनचर्या सुनाउँछ । 'कुनै बेला मेरो साँझ गुह्येश्वरी र एयरपोर्टको पछाडी बागमतीको किनार तिर बित्थ्यो दाई ।' शायद उसले आफ्नो 'स्टोरी' शुरु गर्यो । 'साथमा एक किशोरी हुन्थी जो अक्सर चुप रहन्थी । उसले किशोरीको नाम लिन चाहेन । त्यो किशोरीका चिसा हात समातेर म न्यानो अनुभव गर्थें ।' शायद उसले आफ्नी प्रेमिकाको कुरा गर्दैछ । 'कुरा गर्ने विषय खासै हुँदैनथ्यो । मतभेद पनि हुँदैनथ्यो । कुरा भए पो मतभेद । बागमतीको किनारै किनार हामी निरुद्धेश्य हिड्थ्यौ ।' म चुपचाप उसको कुरा सुनिरहेको छु । उ बोल्दै जान्छ । 
'साँझ घरहरुमा बत्ति बल्न थालेपछि किशोरी गुह्येश्वरीको पुल तर्थि । त्यतिबेला लोडसेडिङ्ग हुँदैनथ्यो दाई ।' मैले केहि भन्न नपाउँदै उसले स्पष्टिकरण दिन्छ । 'अहिले देश पनि अन्धकार छ र मेरो लाईफ पनि । प्रेमबिना जिवन हुन्छ जस्तो लाग्दैनथ्यो तर हुँदो रहेछ ।' क्याफेको कुनामा अडेस लाग्दै उ तिक्तता पोख्छ । 'घर पुगेको जानकारी दिन मोबाईलमा रिङ्ग बजाउँथी - मेरे दिलके चोर हो तुम क्या तुम्हे एहशास हे...।' उ केहिबेर चुप लाग्छ । 'किशोरीकै कुरा गरौं न ।' म उसलाई विषयवस्तुमा फर्काउन कोशिस गर्छु । 'यो कुरा नगरौं दाई अब, म भावुक हुन्छु ।' उ एकछिन चुप लाग्छ । 'मलाई अमेरिका जाने भूत चढेको थियो । धेरैतिर धाएँ अमेरिकाको चक्करमा । पैसा पनि धेरै नै सकें । मसँग फेन्टासी थियो - अमेरिका जाने, प्रशस्त पैसा कमाउँने, काठमाण्डौमा घर बनाउँने, बाबुआमालाई सुख दिने अनि त्यहि किशोरीसँग बिहे गर्ने । म त अमेरिका पुगिसकेको थिएँ नि दाई । म अमेरिका जाने खबरले सबै खुशी थिए । बढि त किशोरी नै खुशी थिई । मलाई बिदा गर्न एयरपोर्टमा आफन्त र साथीभाईको ठूलै भिड लाग्यो । कोहि कोहि रोए पनि । सबैभन्दा बढि रुने त किशोरी नै थिई । नाटक ! 'म फ्रस्टेड हुन्छु होला ।' मैले उसको हात छोड्नेबेला उसले भनेकी थिई । म संझाउन खोज्दै थिएँ, ब्युझिएँछु ।' उसले एक घुट्को पिउँछ र ज्याकेटको बाहुलाले मुख पुछ्छ । 
'बिपनामै पनि जाने चाँजोपाँजो मिल्दै थियो । त्यहि भएर त किशोरी खुशी थिई । चित्त दुखेपनि चुप रहन्थी ।' अनि के भो त - म उत्सुक भएर सोध्छु । 'मेरो अमेरिका जाने सपना पनि टुट्यो र किशोरीको हात पनि ।' उ एक वाक्यमा आफ्नो कहानी टुङ्गयाए झैं गर्छ र साँच्चिकै भावुक देखिन्छ । 'पछि मैले धेरैपल्ट मोवाइलमा उसको नम्बर रिडायल गरें । निकैबेरपछि एउटी युवती बोली 'तपाइले सर्म्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ ।' त्यसपछि त्यो नम्बर मोबाइलबाट डिलिट गरिदिएँ ।' 
म उसकै लागी कवि पनि भएँ । उ आफ्नो व्यागबाट एउटा पुरानो डायरी निकाल्छ जसको कभरमा लेखिएको छ, प्रेमडायरी-१ । म उसको डायरीको पृष्ठ ५५ बाट एउटा कविता नोट गर्छु 
जिवन मेरो उजाड छ तिमी आइदिनु 
मन मेरो उदास छ तिमी छाइदिनु 
जन्म जन्म साथ दिन्छु प्रित लाइदिनु 
तिमी पनि मध्यरातमा कति जाग्छौ होला 
बेसुरमा रातीराती मलाइ खोज्छौ होला 
उसको प्रेमडायरीको पृष्ठ ८५ ले यस्तो भन्छ 
प्रेमीप्रेमीका बिच हुने प्रायः सबै स्थिती परिस्थीतिहरुबाट हामी गुज्रियौं । कहिले खुशी भयौं, कहिले विहृल भयौं । कहिले हाँस्यौं अनि कहिलेकाहिं रोयौं पनि । कहिले एक्साइटेड भयौं । कहिले संवेदनशिल, गंभिर र व्यवहारिक बनेको अनुभूति गर्यौं । कहिले मैले उनलाइ संझाएँ कहिले उनले मलाइ संझाइन् । आमाबाबुबाट टाढा भएर घरजम बसाएको कल्पना गर्यौं । डक्टर, इन्जिनियर, पत्रकार बन्ने लक्ष्य लियौं । एकअर्काप्रति जिन्दगीभर इमान्दार रहने प्रण गर्यौं । एक अर्कालाइ धेरै माया गर्ने बाचा गर्यौं । प्रेममा डुबेको गहिराइ नाप्न, सफलता असफलता अनुमान गर्न, परिवारको स्विकृतिका लागी गर्नुपर्ने संर्घष्ा आँक्न र भविष्यलाइ संयुक्त बनाउन आवश्यक पर्ने कुराहरुका लागी धेरै छलफल गर्यौं । जेहोस जिन्दगीका केहि पक्षहरु हामीले संगै भोग्यौं, बितायौं र बाँच्यौं । 
केहिबेर दुवै मौन रहन्छौं । 'अहिले उ नर्स भा'की छ रे ।' उ मौनता तोड्छ । 'अहिले म यहाँ छु उ अस्पतालमा होली ।' फेरी उ रोकिन्छ । शायद अब उ बोल्न सक्दैन पनि होला । उ अन्तिमपल्ट बाँकी रहेको एक क्वाटर सिग्नेचर घाँटीबाट तल धकेल्छ । '६ महिना भयो भेट भा'को छैन ।' उसको अनुहार एकदम मलिन देखिन्छ । उसको हृदय निचोरिन्छ । प्रमाणस्वरुप उसको आँखाबाट दुइ थोपा आँशु तप्प खस्छन् । यो दृश्य म देख्छु तर नदेखेझैं गर्छु । 
'म एकदिन उसकै छानामाथी बाट अमेरिका जानेछु ।' निकैबेर पछि उ दृढ स्वरमा भन्छ र चुप लाग्छ । 'सर बन्द गर्ने बेला भो ।' निकैबेरपछि क्याफेको वेटर बोल्छ । काउन्टरमाथिको भित्ते घडीले साढे आठ बजेको संकेत गर्दै छ । क्याफेका सबैजसो टेबुलहरु खाली भैसकेका छन् । उ जिन्स पाइन्टको अगाडीको गोजीबाट कच्याककुच्चुक परेका दश बिसका केहि नोटहरु निकाल्छ । 'म दिन्छु नि भाई' म उसको कुरा बुझछु र बिल तिर्छु । बाहिर निस्केपछि उ मसंग हात मिलाउँछ र अंगालो मार्न अगाडी बढ्छ । लाग्यो भने यस्तै हुन्छ होला । बाहिर निष्पट्ट अन्धकार भइसकेको छ । फाट्टफुट्ट चलेका मोटरर्साईकल र ट्याक्सीको उज्यालोले मात्र सडक देख्न सकिन्छ । 
'साँच्ची दाइको नाम के रे - उ केहि बिर्सेजस्तो गरेर भन्छ । म आफ्नो कार्ड दिन्छु । उ केहिबेर घोरिएर कार्ड हेर्छ र 'म फोन गर्छु है दाइ' भनेर गोजीमा राख्छ । 'दाइसंग कुरा गरेर त मन हलुका भयो ।' मलाइ पनि खुशी लाग्यो । म पनि औपचारिक भाषा बोलिदिन्छु । वास्तवमा मेरो मन पनि भारी भएको छ । म केहिबेर उ गएको बाटोतिर हेरिरहन्छु । संभवतः मेरो पनि घरको गेट बन्द भैसक्यो होला । 

२०६५ चैत २२ गते शनिवारको सौगातमा प्रकाशित 

सम्बन्ध

कर्ण दासले एउटा गीत गाएका छन् ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबिचको सम्बन्ध यो अझै कति माथी हुन्थ्यो‘ । साँच्चै भेट नहुनु भिन्नै कुरा हो । भेट भएपछिको सम्बन्ध झन जटिल र नाजुक हुँदोरहेछ । सम्बन्धहरु आफैंमा तरल हुन्छन् । म यहाँ युवा युवतीबिचको प्रेमसम्बन्धको कुरा गर्दैछु आफ्नै अनुभवको आधारमा । हुन त प्रेमसम्बन्धको पूर्ण परिभाषा आजसम्म कसैले दिन सकेको छैन । आ-आफ्नो बुझाई र भोगाई अनुसार सबैले प्रेमको परिभाषा दिएका छन् । प्रेमबाट खुशी र सन्तोष पाउनेले यसलाई वरदान भनेका छन् अनि त्यहि प्रेमलाई कसैले अभिशाप पनि भनेका छन्, जसले प्रेमबाट दुःख, पिडा, आँशु र वियोगको चोट पाएका छन् । कल्पना गरेको सुगन्धयुक्त, कोमल, सुन्दर फूलजस्तो मायामा मन ढुंगाभन्दा कठोर पनि बनाउनु पर्दोरहेछ । 
सम्बन्धको सघनता र तरलता मानवीय प्रवृत्तिमा भर पर्छ । दुइ फरक जैविक प्रकृति, फरक रुची र स्वभाव, फरक पारिवारिक स्थिती, फरक चाहना, आकांक्षा र फरक लक्ष्य भएका व्यक्तिबिचको सम्बन्ध जटिल त हुन्छ नै । जिवनमा अर्काको चाहना, सपना, दुःख-पीडा, खुशी, माया र स्नेह बोक्नु कम गाह्रो हुन्छ र ? दुइ पक्षको सोच र स्वार्थ मिलेसम्म सम्बन्ध रहन्छ, नमिले छुट्छ । गहिरिएर हेर्दा हरेक सम्बन्ध यथार्थमा सम्बन्धहिन नै हुन्छन् । संसारमा शाश्वत त परिवर्तन हो, गतिशीलता हो । त्यसैले यहाँ कसैसंग सम्बन्ध जोडिदा उत्पात खुशी हुनु र तोडिदा उत्पात दुखी हुनुको अर्थ छैन । 
केटामान्छे र केटीमान्छे प्रेम र घृणा दुवै कुराको सागर हुन् । केटा देखेपछि केटीले देखाउने स्वरुप पनि रहस्यमय नै हुन्छ भने केटी देखेपछि केटाहरुले देखाउने व्यवहार पनि त्यत्तिकै चाखलाग्दो र रोमाञ्चकारी हुने गर्छ । जिवनको सबैभन्दा ठूलो सुख मलाई कसैले माया गर्छ भन्ने विश्वास हो । केटामान्छे नभई हुदैन जुनसुकै स्वभाव भएकी केटीलाई पनि । तर कोमलताको प्रतिक र फराकिलो हृदयको रुपमा उभ्याईएकी केटीको हृदय पनि समय अनुसार बदलिदो रहेछ । मनमा मायाको समुद्र भएको दावी गरेपनि व्यवहारमा त्यो संवेदनशिलता छैन भने त्यो दावी खोक्रो हो, चेपारे हो, माया होईन । 
दाई जगदिश घिमिरेले आफ्नो पुस्तक अर्न्तर्मनको यात्रा मा लेखेका छन्, जिवनमा कहिलेकाहिं प्रचण्ड तुफान आएन भने त्यो जिवन नै के ? त्यो हुरीले धुलो उडाओस, सबैतिर कालो मैलो र अंध्यारो छाओस, त्यो जिवनरुपी वृक्षलाई जरैदेखि हल्लाओस, भुर्इंसम्म निहुर्याओस अनि हुरी शान्त भएर जाँदा फेरी उज्यालो छरोस र आफ्नो पातको पानीले सबै धुलो पखालेर निर्मल छोडोस । जिवन फेन्टासी हो । जिवन सपनाहरुको पोको हो । साँच्चै मान्छेको जिन्दगी पिङ्ग जस्तै हो । लिङ्गेपिङ्ग । चचहुर्इ गरिरहन्छ सुखदेखि दुखसम्म, दुःखदेखि सुखसम्म । दुःखबाट मच्चिएर सुखको छेउछेउ पुगेजस्तो हुन्छ तर तुरुन्तै दुःखमा आईपुग्छ । कल्पना गरेको काल्पनिक जिवनभन्दा वास्तविकता फरक हुँदोरहेछ । जिवनमा सरलता ल्याउँभन्दा झनझन जिन्दगी जटिल बन्दोरहेछ । संसारमा प्रत्येक वस्तुको साथमा त्यसको विपरित भाग पनि रहिरहेकै हुन्छ । सुखको साथ दुःख, आशासंग निराशा, राम्रोसंग नराम्रो, दिनको साथ रात, उज्यालोको साथ अंध्यारो । 
प्रेम रोप्न सजिलो छ तर हुर्काउन-जोगाउन कठिन छ । सम्बन्ध गाँस्न सजिलो हुन्छ तर त्यसलाई निभाईराख्न बडो गाह्रो हुन्छ । म अहिले पनि १ जनवरी २००५ लाई धुमिल रुपमा संझिरहेको छु । हातले नाक समेत नसमाउने पुषको त्यो चिसो दिनमा पनि म बडो उत्साहका साथ एउटा पिकनिकमा गएको थिएँ । त्यो चिसो दिनको पिकनिक मेरो जिवनको एउटा अविस्मरणिय दिन होला भन्ने मलाई के थाहा । संयोग पनि अचम्मकै कुरा हो । चाहेर पनि नहुने नचाहेर पनि हुने । तर जे होस निकै उत्साहपूर्ण थिए ति दिनहरु । 
ठिक चार वर्ष पछि त्यहि ठाउँमा उभिएर संझिरहेछु आज म ति दिनहरु । यसैगरि हतारको लस्कर हिडिरहेथे फरक अनुहारका मान्छेहरु । यस्तै भिडभाड थियो । तैपनि मान्छेहरु आफैंसंग हर्राईरहेका थिए । यसैगरि बजिरहेथे मन्दिरका घण्टहरु । मजस्तै कुनै कुमारी प्रेमिका कुरिरहेको जवान पुरुष आफ्नो सग्लो अनुहार आफ्नी प्रेमिकाको आँखामा हेर्न चाहन्थ्यो र अर्को एक दिन हाँसी खुशी बाँच्न चाहन्थ्यो । 
अहिले मलाई आफ्नो भागमा अन्धकार परेजस्तो लागिरहेछ । चार वर्ष संगै बिताएको मान्छेले मेरो इच्छा विपरित केही गर्दैन भन्ने विश्वास भएको थियो मलाई । तर मैले भनें नि कोमलताको प्रतिक र फराकिलो हृदयको रुपमा उभ्याईएकी केटीको हृदय पनि समय अनुसार बदलिदो रहेछ । समय अनुसार धेरै कुरा बदलियो । १ जनवरी २००५ मा शुरु भएको मेरो यस्तै एउटा सम्बन्धको ठिक चार वर्षपछि १ जनवरी २००९ मा अन्त्य भयो । । गुडवाई । गुडवाई … । 

कसम खानु बाचा गर्नु मायाको रिती यै हो 
केहिबेरको हाँसोपछि रोई बस्नु प्रिती यै हो 

व्यस्त बानेश्वर

एउटा सिन्दुरे साँझ । व्यस्त अनि मस्त बानेश्वर । एकजना तरकारी व्यापारी भक्तपुर जाने मिनीबसको छतमा खर्पन राख्दैछन् । बोल्ने त फुर्सद भए पो । पछाडीको ढोकाबाट भित्र छिरिहाले । एउटा बालक कराउँदैछ चाबहिल, गौशाला, बसपार्क । बालक नै भनौं न, १०-११ बर्षको देखिन्छ । विहान झिसमिसेदेखि राती झण्डै साढे आठ बजेसम्म यसरी नै कराउनु उसको दैनिकी हो । दिनहुँ हजारौं यात्रुलाइ गन्तव्यमा पुर्याउने उजस्ता सयौं खलाँसीको आफ्नै गन्तव्य चाहिं अनिश्चित छ । एउटी झण्डैझण्डै तिलचामले केश भएकी महिला अर्को एउटा खलाँसीसंग भाडामा बार्गेनिङ गर्दैछिन् । कार्ड अनुसार उनी बि बि एस पढि्दरहिछन् पब्लिक युथ क्याम्पसमा । यिनको कार्ड चेक गर्दैछ विचरा स्कुल नै टेक्न नपाएको खलाँसी । उसलाइ तिनको कार्ड शंकास्पद लागेछ । 'के हेर्र्छौ भाई तिमी कार्डमा -' खलाँसी बोलेन । केहि बुझे पो हेर्नु । 'त्यस्तो मान्छे पनि स्टुडेन्ट हुन्छ - महिला हिडेपछि बोल्यो उ । एकजना अधवैंसे ठेलमठेल गर्दै मिनीबसमा पस्दैछन् । 'के गर्नु जानैपर्छ ।' यति भन्न नपाउँदै उनी बसभित्र छिरे । 'पछाडी खाली नै छ । पछाडी गईदिनुस न ।' खलाँसी ढोकाबाट चिच्याउँदैछ । 
नयाँ नेपालको नयाँ संविधान लेख्न जुटेका नयाँ सभासद्हरुको दिनभर चुरीफुरी चल्ने नयाँ बानेश्वर साँझ परेपछि गायक योगेश्वर अमात्यको जब सन्ध्या हुन्छ ... गीतले भनेजस्तै मस्त हुनेगर्छ । नजिकैको मार्क डेभिडसन वाइन स्टोरमा ग्राहकहरु विभिन्न ब्राण्डका सोमरस छान्न थालिसकेका छन् । सरकारले सोमरस व्यापारलाइ व्यवस्थित गर्न दश बजेपछि किन्न बेच्न नपाइने नियम लगाएको निकै भइसकेको छ । 'दश बजेसम्म किन्ने त्यसपछि पिउने भनेको होला ।' स्पे लिभेट अर्डर गरेर एक ग्राहकले सरकारमाथी व्यंग्य कसे । 
फुटपाथमा एउटा किशोर चारपांग्रे ठेलामा मकै, भटमास, चना, केराउ बेच्दैछ । 'दिउँसो पढ्छु बेलुका यहि काम गर्छु । चना भटमास किन्ने र भुटिदिने काम चाहिं दिदिले गरिदिन्छे ।' १० रुपैयाको चना किनेपछि बल्ल बोल्यो उ । फुटपाथमा सानोतिनो बजार नै लागेको छ । रुखको आडमा ठूलो छातामुनी चुरोट, चकलेट, चर्इगम खत्राकखुत्रुक सामान राखेर एउटी महिला बसेकी छिन् । केहि समय अगाडी महानगरपालिकाले ठूलै मेहनत गरेर फुटपाथ खाली गरेपनि यिनी चाहिं ५ बर्षेखि डेग नचली बसेकी रहिछन् यहाँ । 'हाम्रो त गरिखाने ठाउँ नै यहि हो । कहाँ जानु -' उनी यति बोलिन् । सिडी पसलमा बि आर चोपडाको महाभारत देखि भर्खरै रिलिज भएको विवादित हिन्दि फिल्म चाँदनी चोक टु चाइना सम्मका सिडीहरु छान्दैछन् ग्राहक । सरकारले हलमा प्रदर्शन रोकेपनि फुटपाथमै प्रशस्त पाइदो रहेछ यो फिल्म । छेवैमा भूइमा तन्ना ओछ्याएर पुस्तकहरु फिजाइएका छन् । ऋग्वेद देखि खतरा युवती अनि कसरी करोडपति बन्नेदेखी कसरी केटी पट्याउने भनेर सिकाउने पुस्तक पाइदा रहेछन् यहाँ । स्टि्ट ल्याम्पको मधुरो उज्यालोमा केहि युवाहरु अश्लिल सामग्री युक्त पत्रिकाहरु पढ्दैछन् । क्रान्तिकारी सरकार उदार भएर नै होला यस्ता पत्रपत्रिका वानेश्वरदेखि रत्नपार्कसम्मका फुटपाथमा छ्याप्छ्याप्ती पाइन्छन् । 
अलिपर बाटैमा मम र सेकुवा पाक्दैछ । बानेश्वरको फुटपाथमा त मम सेन्टर नै खु्लेको रहेछ 'दाजुभाइ मम किंग सेन्टर ।' नामजस्तै दाजुभाइ नै बटुवालाइ मम खुवाउँदै रहेछन् । 'ठेला गुडाउँदै ल्यायो गुडाउँदै लग्यो सजिलै छ ।' भाइचाहिं बोले । पश्चिमको स्टि्ट फुड कल्चरको नक्कल शुरु भइसक्यो नेपालमा पनि । छेवैमा गम्म टोपी लगाएर यो जाडोमा तातो तातो चिया बनाउँदैछन् एक वृद्ध । केहि मिटर पर न्यू मुस्कान रेष्टुरेन्ट विद डान्स बारमा रिमिक्स गीत गुञ्जिन थालिसकेको छ काँटा लगा...। भद्धा मेकअपमा दुइ युवती खित्का छोडिरहेका छन् डान्सबारको ढोकैमा । अलि भित्रपट्टकिो क्रेजी फोर लेडी नामको डान्सबारमा पनि चहलपहल शुरु भइसकेको छ । नाम पनि के के हो के के । भारतको महाराष्ट्रमा पसलहरुको नाम स्थानिय मराठी भाषामै राख्नुपर्ने नियम छ तर हामीकहाँ चाहिं जति अंग्रेजी त्यति राम्रो । डान्सबार माथी वामदेव गौतमको वक्रदृष्टिी परेपछि यो व्यवसाय ठूलै संकटमा परेको व्यवसायीहरुको गुनासो छ । ११ बजेपछि बन्द गर्नु भन्ने प्रशासनको कडा आदेश भएपछि साँझदेखि नै जम्न थालेछन् डान्सबारहरु । 
छेवैमा कलेज डे्समै दुइ युवायुवती रेलिङ्गमा आड लागेर कुरा गर्दैछन् । 'वाफ रे वाफ यतिबेलासम्म कलेज !' वटुवाको एक समूहले उनीहरुले सुन्नेगरी टिजिङ गर्यो । र्सार्वजनिक स्थानमा पनि एकान्तको खोजी गरिरहेको यो जोडी केहि समयपछि देखिएन । 
अलिपर पेप्सी को होर्डिङबोर्ड छ एउटा ठूलो घरको भित्तामा । आजभोली नेपालीहरु पनि निकै ब्राण्ड कन्सस हुन थालेका छन् । गाडीको हेडलाईटले यो बोर्ड घरीघरी चम्किलो देखिन्छ । लोडसेडिङको प्रमुख कारण नै होर्डिङ बोर्ड ठानेर विद्युत प्राधिकरणले होर्डिङ बोर्डहरुको लाईन काटिदियो तर लोडसेडिङ भने घट्ने छाँट देखिएको छैन । 
पछिल्ला २०-२५ बर्षा बानेश्वरले ठूलै विकास गर्यो । '२०४०/४२ सालसम्म वानेश्वर निकै शान्त र सुनसान थियो । घरहरु पातला थिए । काँचो इट्टाले बनेका र जस्ताले छाएका घरहरु थिए । ठाउँ ठाउँमा ढुंगेधाराहरु थिए । प्रशस्त खाली जग्गा थियो । सस्तो पनि थियो । ३०-३५ हजारमा एक रोपनी जग्गा पाईन्थ्यो । अहिले आनाको ३५ लाख रे ।' चोकमै भेटिएका ६० बर्षो शेरबहादुर लामाले उसबेलाको बानेश्वर संझिए । 'हेर्दा हेर्दै कहाँबाट कहाँ पुग्यो बानेश्वर । संझिदा पनि सपनाजस्तो लाग्छ ।' काभ्रेबाट तिस बर्षघि काठमाण्डौ छिरेका लामा बानेश्वर चोकको व्यस्तता देखेर चकित छन् । एभरेष्ट होटल बनेपछि र २०५४ सालमा चिन सरकारले नयाँ बानेश्वरमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाईदिएपछि त झन् नयाँ बानेश्वरले काँचुली नै फेर्यो । 
पछिल्ला २/४ बर्षा नै बानेश्वरले थुप्रै कुरा देख्यो र भोग्यो पनि । आँखाले पनि नभ्याउने घण्टौं लामो ट्राफिक जाम देख्यो । ट्रलिबसको यो बेहाल अवस्था देख्यो । हेर्दाहेर्दै ट्रलिबस इतिहास हुने अवस्थामा पुग्न लागेको छ । 'मलाई बचाइराख्नुस' भनेर याचना गर्दै मुश्किलले दुइवटा ट्रलिबस ओहोरदोहोर गरिरहेका थिए केहि समयअघि सम्म । तर अहिले त ति पनि थन्किएछन् लोडसेडिङको मारमा परेर । यसबिचमा बानेश्वरले थुप्रै राजनितीक परिवर्तनहरु देख्यो । उतारचढावहरु देख्यो । विरोधसभाहरु देख्यो । आमसभाहरु देख्यो । शोकसभाहरु देख्यो । नेताका मिठा मिठा आश्वासनहरु सुन्यो । थुप्रै मुर्दावाद र जिन्दावादका नाराहरु सुन्यो । पक्राउ, धरपकड र लाठिचार्ज देख्यो । टियर ग्याँसको पिरो धुवाँ खेप्यो । अनि गणतन्त्र घोषणाको २४ घण्टे उत्सव पनि मनायो र उल्लासको रातो अविरले रंगियो एकपटक वानेश्वर । संयोग नै भन्नुपर्छ पहिलोपटक जनताको संविधान यहि स्थानमा लेखिदैछ । 
'संविधान त मरेपनि बन्दैन । काटाकाट हुन्छ यहाँ ।' एक अधवैंशेले संविधानसभा भवन तर्फइंगित गर्दै टिप्पणी गरे । 'संविधान तर् इण्डियामा बनिसक्यो रे । यिनीहरुले त सिग्नेचर मात्र गर्ने हुन् ।' अर्काले अनुमान मात्र होइन ठोकुवा नै गरे । 'यि सभासात -उनले सभासद भन्न खोजेका हुन) ले त देश पो कंगाल बनाउने भए । देख्नुभएन, महिलाले लगाउने कण्डमको पैसा त लिदारहेछन् पुरुष सांसदहरु ।' अर्का आफ्नो टिप्पणी संगै मज्जाले हाँसे । 
'यिनीहरुले देशको लागी केहि गर्दैनन् । वैठक बहिष्कार गरेर भत्ता चाहिं लिन्छन् लाज पचेकोहरु ।' अर्काले आक्रोश पोखे । उनको भनाइमा उपेक्षाको भाव मिसिएको थियो । अर्काको गुनासो चाहिं सरकारले संविधानसभा भवनको पश्चिमपट्ट काँडेतार लगाएर र्सवसाधारणलाई हिड्न नदिएकोमा थियो । 'जनतामाथी विश्वास भए किन यस्तो गर्नु - आफूचाहिं भित्रै हतियार बोकेर जाने, र्सवसाधारणलाई चाहिं बाटो पनि हिड्न नदिने -' एक दुइ जना गर्दै त्यहाँ एउटा ठूलै भिड जम्मा भयो । 
संविधान लेखिदैछ रे नि त - 'खै मलाई त लेखेजस्तो लाग्दैन । भागबण्डा नै सकिएको छैन अझै ।' प्रश्न भूइमा र्झन नपाउँदै अर्काले शंका जाहेर गरे । 'भनेको र्टाईममा त मरेपनि लेखिदैन । भत्ता खाईरहनकै लागी पनि र्टाईममा सक्दैनन् । केहि नभए लोडसेडिङको बहाना बनाउलान् ।' अर्काको कत्ति पनि विश्वास देखिएन संविधान बनाउनेहरुप्रति । 
दिनभर व्यस्त र साँझ परेपछि मस्त रहने बानेश्वर छिप्पिदो रातसंगै सुस्ताउन थालेको छ । बढ्दो चिसोसंगै मानिसहरु आफ्नो गुँडमा पुग्न हतार देखिदैछन् । सडक बत्तिहरु चर्को देखिन थालेका छन् । सबैलाइ विदा गरेर वानेश्वरले पनि विश्राम लिएको छ । भोली झिसमिसेदेखिको व्यस्तता त छदैछ । 

देवकोटा, गोटीखेल र फ्रेडी

काठमाडौंबाट दक्षिणपूर्व झन्डै ७० किलोमिटर टाढा रहेको गोटीखेल अहिले केही उजाड छ । सुक्खा लागेर बारीका पाटा चीरा परेका छन् । काउली राम्ररी फुल्न सकिरहेका छैनन् तर गोटीखेलका बासिन्दाको मन भने फूलेकै छ । पछिल्लो समय उनीहरूको जीवनशैली बदलिएको छ । बालबच्चा शिक्षित छन् । गाउँमै उच्चमावि, हेल्थपोस्ट छन् । देशका कुनाकुनामा पुगेको बोर्डिङ स्कुल पनि छ । सरकारी सेवाका आधारभूत संरचनाहरू पनि छन् । सरकारले ८ घण्टा मात्र बिजुली दिए पनि गोटीखेलबासीले आफ्नै पौरखले बिजुली बालिरहेका छन्, पेल्टि्रक सेटबाट । पशुपालन र दूधबाट पनि मनग्गे आम्दानी गर्दा रहेछन् यहाँका बासिन्दा । रामहरि तिमल्सिना दिनमा २० धार्नीसम्म खुवा उत्पादन गरेर बेच्छन् । छोराछोरीलाई राम्रै गनिने स्कुलमा पढाएका छन् । आफ्नै पौरखले केही कमाएको छु -उनी सन्तुष्टिभाव देखाउछन् । उनीजस्ता करिब आधा दर्जन किसानले खुवा उत्पादन गरेर मनग्गे आर्जन गरिरहेका छन् । गाउँका सबैजसो युवाले एउटा एउटा पेसा अंगालेकै छन् । र पनि ललितपुरको कर्णाली र सौतेलो सन्तान जस्ता उपनाम पाएको छ यो ठाउँले । 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की वर्षौभरि देशव्यापी रूपमा मनाइरहँदा गत हप्ता केही साहित्यकार, पत्रकार र कलाकारको एउटा टोली गोटीखेलतर्फहानिदै थियो, सुनगाभा साहित्य सदनले दक्षिणी ललितपुरमा पहिलोपटक आयोजना गरेको ललितपुर साहित्यिक महोत्सवका लागि। प्राणघातक रोग स्वाइनफ्लुले विश्वभरि नै आतंक मच्चाएर लाखौं सुँगुर मारिइरहँदा हाम्रो यात्रामा भने स्टेफन हकिन्सको चर्चित पुस्तक जर्ज्स सेक्रेट कि टु दी युनिभर्स को पात्र फ्रेडी नामको सुँगुर चर्चाको विषय बनिरहृयो । फ्रेडी पुस्तकको मुख्य पात्र जर्जको साथी हो, जुन जर्जलाई हजुरआमाले जन्मदिनमा उपहार दिएकी थिइन्। जर्ज बहृमान्डबारे निकै जिज्ञासु हुन्छ । घरनजिकै वैज्ञानिक सम्मेलन भइरहेको बेला फ्रेडी खोर भत्काएर त्यहाँ पुग्छ । फ्रेडीलाई खोज्दै जाने क्रममा जर्जले एरिक र अन्य वैज्ञानिकलाई भेट्छ। त्यहीबाट उसको ब्रहृमाण्डयात्रा शुरू हुन्छ । यसरी फ्रेडीले जर्जलाई बहृमाण्डको यात्रामा सामेल हुने बाटो खोलिदिन्छ । दुइ वर्षगाडि प्रकाशित यो पुस्तक हालसम्म संसारका झन्डै तीन दर्जन भाषामा अनुवाद भइसकेको छ । गोटीखेल यात्राकै सहयात्री विकास बस्नेतले जर्जको ब्रहृमाण्डयात्रा शीर्षकमा सो पुस्तकको नेपाली अनुवाद गरेका हुन्।
दुइदिने महोत्सवमा सबैले देवकोटालाई सम्झिए । उनका व्यक्तित्व र कृतित्वका विभिन्न पक्षबारे चर्चा भयो । काठमाडौं फर्केपछि मैले देवकोटाका समकालीन वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधान र पुत्र प्राध्यापक पद्मप्रसाद देवकोटासँग उनीबारे थप जिज्ञासा राखें । देवकोटा जन्मिदा दीपावलीको झिलिमिलीसँगै औंसीको अध्यारो पनि थियो । जन्मसमयको त्यही अध्यारो र उज्यालोको संयोग जीवनभर देवकोटाले भोग्नुपरेको सुनाउँछन् प्रधान। भन्छन् । उनको जीवनमा अत्यन्तै उज्याला र अँध्यारा दिन पनि आए । थुप्रै विषम परिस्थितिको सामना गर्नुपर्यो । देवकोटा चुरोटको सबैभन्दा नजिकका साथी थिए र चुरोट उनको । उनले २५ वर्षको उमेरदेखि चुरोट पिउन थालेका थिए । प्रधानको विचारमा उनको व्यक्तित्वमा बढी चुरोट खाने बानीले चाहि नराम्रो प्रभाव पार्यो ।
देवकोटाको व्यक्तित्व अचम्मको थियो । उनलाई पहिलोपटक भेट्दाको अनुभवबारे शंकर लामिछानेले लेखेका छन् कोठामा उफ्रेर एक्कासि पुगें । देखें- कालो कम्बलमा गुटुमुटिएर देब्रे हातले चिउँडो समाई कोही एकाग्रचित्त भएर पढिरहेछ । एकमन त लगत्तै फर्कूंजस्तो लाग्यो । उहाँ महाकवि होइन होला भन्ठानेर । कोठामा चारैतिर भर्खरै आँधी आएझैं हरेक दिशामा कागज छन् । भित्तामा विभिन्न देवीदेवता अनि रवीन्द्रनाथ ठाकुरका चित्र पेन्सिलले कोरिएका छन् । महाकवि लहडी थिए । एकपटक शौच बस्दा बारुलाले टोकेछ । त्यसपछि उनी सीधै पुलिसचौकी गएर बारुलालाई कारबाही गरिपाउ भनेर निवेदन दिए । उनी कहिलेकाही यथार्थलाइ कल्पना र कल्पनालाई यथार्थ सम्झन्थे । हिड्दा, बस्दा, खाँदा, चुरोट तान्दा आफैंभित्र हराइरहेका हुन्थे । प्राय दौरासुरुवाल, कोट र टोपी लगाउँथे । कालो लामो सेरवानी कोट लगाएर साइकलमा पनि हिड्थे । पछिपछिचाहि टोपी हातमा बोकेर हिड्थे र होटलमा खाजा खाँदा प्रायः त्यही बिर्सिन्थे । गफ गर्ने मान्छे हुँदा उनी घण्टौंसम्म गफिइरहन्थे । गफ गर्ने मान्छे कोही भएन भने कल्पनामा बहकिदै हिडिरहन्थे ।
देवकोटा समाजसुधारक र ठूला राष्ट्रवादी थिए । पुत्र देवकोटाका अनुसार शिक्षामन्त्री भएका बेला उनले नेपाली भाषालाई राष्ट्रभाषा बनाए । नेपाली भाषालाई अनिवार्य बनाई औपचारिक रूपमा यसको पढाइ शुरू गराए । मानिस शिक्षित होऊन् भनेर उनी गोर्खापत्र बेच्न बिहानबिहान पशुपति पुग्थे । त्रिभुवन विश्वविद्यालय खोल्न र दुग्ध विकास संस्थानको स्थापना गर्नमा पनि योगदान गरेका छन् । दुग्ध विकास संस्थानको नाम गोरस संस्थान राख्न उनले प्रस्ताव गरेका थिए । उनको बोल्ने कला अद्भुत थियो । २०१२ सालतिर मातृकाप्रसाद कोइरालाले संसद्मा हिन्दीमा भाषण गरे र आफू नेपाली नबुझने भन्दै राष्ट्रभाषा हिन्दीलाई बनाउनुपर्ने माग गरे । देवकोटा जुरुक्क उठेर २ घण्टा अंग्रेजीमा बोलेर राष्ट्रभाषा अंग्रेजी बनाउनुपर्छ भनिदिए । त्यसपछि मातृकाले यस्तो कुरै गरेनन् । यो देशको स्वाभिमान जोगाउनुभयो तर देशले उहाँलाई चिनेन । पुत्र दुखेसो गर्छन् ।
देवकोटाको आर्थिक अवस्था र उनको उदारताका बारेमा थुप्रै सम्झना छन् साहित्यकार प्रधानसँग । उनले अँजुली फुकाएर नै अरूलाई दिए तर नियतिको खेल उनले अँजुली फुकाएर माग्नु पनि पर्यो । उनको उदारता उनकै लागि कमजोरी बन्यो । सबै कुरा जिते पनि रोग, भोक र शोकसँग हारे देवकोटा । प्रधान भावुक हुँदै भन्छन् । उनले बिजुली अड्डामा पनि पैसा बुझाउन सकेनन् र २००७ सालको प्रजातन्त्रसँगसँगै उनको घरबाट बिजुलीको लाइन काटियो । देवकोटाले जीवनमा जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि आफ्नो व्यवहारबाट हात झिकेनन् । सन्तानको बिहे-व्रतबन्ध गर्न निकै ठूलो कसरत गर्नुपर्यो किनभने जीवन योजनाबद्ध रूपमा कहिल्यै चल्न सकेन । देवकोटापत्नी पनि मनकी असाध्यै धनी थिइन् र धेरैजसो पैसा धर्मकर्ममा लगाउँथिन्, गरिबहरूलाई दिन्थिन् । देवकोटा पैसा थापेको दिन तिर्न बाँकी रहेका सबै पसलमा पुग्थे । पैसा भएको बखत घर आउँदा प्राय चाकु-पुष्टकारी आदि लिएर आउँथे र छोराछोरी सुतिसके पनि उठाएर बाँड्थे ।
पुत्र देवकोटाका अनुसार उनी १४ वर्षा भएपछि उनको बिहेको कुरा चल्न थालेको थियो । उनको विवाह १९८१ फागुनमा इन्द्रचोककी मनदेवी चालिसेसँग भयो । विवाह हुँदाताका देवकोटा सोझा थिए । उनले पहिलोपटक ससुराली जाँदा ६ रुपियाँको महँगो जुत्ता हराउनाले बुबाको गाली खाएका थिए रे। १९९६ मा पैतृक अंशबन्डा हुँदा देवकोटा दाजुभाइका नाममा एउटा थोत्रो घर मात्र थियो । झिगटी लगाएको दुइतले घर ६ जनालाई बाँड्दा सरदरमा एउटा कोठा पर्ने देखेपछि देवकोटाले मैतीदेवी फाँटमा एउटा पुरानो घर किनेका थिए, जुन अहिले जीण अवस्थामा छ । अहिले यो घर भाडामा लगाएर देवकोटाका शाखासन्तान अर्कै सुविधायुक्त घरमा बस्छन् ।
उनका बुबा तिलमाधव देवकोटा आफ्ना छोरालाई आफूजस्तै पण्डित बनाउन चाहन्थे तर उनलाई पारिवारिक सल्लाहबमोजिम अंग्रेजी पढाइयो । एसएलसीपछि देवकोटा आईएस्सी पढ्न त्रिचन्द्र कलेजमा भर्ना भए । उनी आफ्नो पाठ घोकेर कण्ठ पार्थे । कापीमा उन्नाइसौं र बीसौं शताब्दीका स्वच्छन्दतावादी अंग्रेजी कवि, निबन्धकार र समालोचकका लामा-लामा उद्धरण पनि जस्ताको तस्तै सार्थे । उनले यति बेलासम्ममा द्रुत गतिमा कविता लेख्न थालिसकेका थिए र वर्ड्र्सवर्थ र सेलीका कविता पढेर आफूलाई अंग्रेजी साहित्यतिर पनि उन्मुख गराइसकेका थिए । देवकोटाले १९८५ मा आईएस्सी पास गरे र १९८६ मा पटना विश्वविद्यालयबाट बीए गरे । त्यस बेला नेपालबाट बीए पास गर्ने उहाँ एक्लो हुनुहुन्थ्यो । उहाँले बीए पास गरेको कुरा त्यति बेला हट न्युज बन्यो र गोर्खापत्रले पनि यो खबर छापेको थियो । पुत्र सम्झन्छन् ।
उनले तत्कालीन राणा सरकारको छात्रवृत्तिमा पटना विश्वविद्यालयमै कानुन पनि पढे । महिनाको ७० रुपियाँ छात्रवृत्ति पाउँथे । यो पैसाले उनले आफ्ना भाइहरूलाई पनि पटना लगेर पढाए । त्यति बेला अखिल भारतीय कलेज वादविवाद प्रतियोगितामा उनी प्रथम भएका थिए । पटनामा पढ्दा उनले विश्वेश्वरप्रसाद कोइरालालाई पनि भेटे । कानपुरका उद्योगहरू हेरे, ताजमहल हेरे र कविता लेखे । पटनामा देवकोटालाई भेटेको कुरा बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन् । पटनाबाट बीएल सकेर काठमाडौं फर्किंदै गर्दा १९९० साल माघ ९ गते महाभूकम्प गयो । उनले थानकोटमा रात कटाए । भोलिपल्ट घर फर्किंदा उनले धरहरा भाँच्चिएको देखे । टुँडिखेल चिरैचिरा भएको देखे र काठमाडौं नै विक्षिप्त भएको देखे । उनी त्यति बेला निकै विचलित भएका थिए ।
एमए पढ्न पुनः पटना विश्वविद्यालयमा नाम लेखाए तर पूरा गर्न सकेनन् । पढ्दापढ्दै देवकोटामा पढाइप्रति वितृष्णा जाग्यो । उनीभित्रको आशा, भरोसा र उत्साह पनि क्रमशः मर्दै गयो । अध्ययनमा जुट्दाजुट्दै बरालिन थाले । सांसारिक मोहबाट हराउन थाले । उनी भौंतारिएर हिड्दाहिड्दै पनि उनको मनमा कविताचाहिं फुरिरहन्थ्यो । देवकोटा र कविता एउटा सिक्काका दुइ पाटा हुन पुगे ।
वाग्मतीमा धेरै पानी बगिसकेको छ। देवकोटा इतिहास बनिसकेका छन्। काठमाडौंको मौलिकता खोज्न कि काष्ठमण्डप नै पुग्नुपर्छ कि त यो कहालीलाग्दा घरहरूको शहरलाई पिठ्यु फर्काएर पहाडतिर उकालो लाग्नुपर्ने अवस्था छ। परम मित्र चुरोट पैसाबाट रुपियाँ हुँदै उकालिएर उनैले हराएको जुत्ताकै मोलबराबर पुगिसक्यो, एक खिल्लीकै । जर्जलाई बहृमाण्ड घुमाउने फ्रेडी मानवसभ्यताकै अन्त्य गराउन सक्ने घातक सँगुर बनिसक्यो । शतवाषिर्की समारोहस्थल गोटीखेल पनि यसबाट भविष्यमा आक्रान्त नहोला भन्न सकिन्न। देवकोटा भएको भए उनी पनि यसबाट त्रस्त हुनुपथ्र्यो। मास्क लगाएर हिड्थे होलान् । साँच्ची, उनी त स्वच्छन्द र परसेवी पो हुन् क्यारे, मास्क पनि दुःखी गरिबलाई दिन्थे होलान् । कविता त लेखी नै हाल्थे, काव्यिक एडिक्ट जो परे उनी ।